Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ काे लगातार दाेस्राे जित

अमेरिका भने ३ विकेटले पराजित

52
Shares

काठमाडाैं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले पराजित गरेकाे छ ।

काठमडाैंकाे माथिल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएकाे खेलमा अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटाएकाे हाे । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाएका छन्। अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो।

अमेरिकाका स्मित पटेलले शतक बनाए । पटेल १ सय ८ बलमा १ सय १६ रन जोडेर आउट भएका छन् । नेपाल ‘ए’ का पवन सर्राफले २ तथा विपिन खत्री, शाहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले १-१ विकेट लिएका थिए ।एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २-२ वटा अभ्यास खेल खेल्ने भएकाे छ। नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा शनिबार स्कटल्यान्डसँग र आउँदो सोमबार अमेरिकासँग खेल्ने भएकाे हाे ।

यहि वैशाख २८ देखि आगामी जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुने भएकाे छ ।