काठमाडौँ । हल्ट प्राइज नेपालले ‘नेशनल स्टुडेन्ट आन्ट्रप्रेनरशिप कम्पिटिशन २०२६’ आयोजना गर्ने भएको छ।
ब्रिटिश काउन्सिल नेपाल र यूबीए सोलुशन्स प्रालिको सहकार्यमा सञ्चालन हुने उक्त प्रतियोगिता २०८३ वैशाख २६ गते (२०२६ मे ९) आयोजना गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण ललितपुरको कुपण्डोलस्थित एम्बार्क कलेजमा आयोजना गरिनेछ भने ग्रान्ड फिनाले जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा हुनेछ।

कार्यक्रमको नेतृत्व नेशनल को–अर्डिनेटर रियाज नेपालले गर्नेछन् भने सैशा श्रेष्ठ नेशनल कम्युनिटी को–अर्डिनेटरका रूपमा रहेकी छन्। आयोजकका अनुसार देशभरका ४० भन्दा बढी कलेजबाट १६० भन्दा बढी विद्यार्थी उद्यमी प्रतियोगितामा सहभागी हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले यस वर्षको ‘अनलिमिटेड’ थिमअन्तर्गत सामाजिक उद्यमशीलतामा आधारित नवीन सोच र परियोजना प्रस्तुत गर्नेछन्। ती अवधारणाहरू संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी)सँग सम्बन्धित समाधानमा केन्द्रित हुने बताइएको छ।
प्रतियोगिताको राष्ट्रिय विजेताले ‘हल्ट प्राइज डिजिटल इन्क्युबेटर’मा प्रवेश पाउनेछन्। त्यसपछि उनीहरूले ‘ग्लोबल एक्सेलेरेटर’ हुँदै बेलायतको लन्डनमा हुने ‘ग्लोबल फाइनल’सम्म पुग्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत वर्ष सरस्वती बहुमुखी क्याम्पसकी श्रीशा पाण्डे नेतृत्वको टोली ‘वायुदृष्टि’ले एआई–आधारित वायु गुणस्तर निगरानी तथा शुद्धीकरण प्रणाली प्रस्तुत गर्दै राष्ट्रिय उपाधि जितेको थियो। आयोजकका अनुसार उक्त उपलब्धिले यस वर्षका प्रतिस्पर्धीहरूका लागि थप प्रेरणा र उच्च मापदण्ड स्थापित गरेको छ।










प्रतिक्रिया दिनुहोस्