Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


एमाले अध्यक्ष ओलीले आज सुगुण्डुमा सुदूरपश्चिमका ११ जना सांसदसँग छलफल गर्दै

बैठकमा संसदीय दलको नेता परिवर्तनको विषय मुख्य एजेण्डा

3.8k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका आफ्नाे पार्टीका सांसदहरूलाई बुधबार गुण्डुमा बोलाएर महत्वपूर्ण बैठक गर्नुहुने भएकाे छ।

बुधबार बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ जना सांसद सहभागी हुने एमालेले जनाएकाे हाे । पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि केही सांसदहरूले ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि ओलीले सामूहिक छलफलमार्फत मात्रै निर्णय लिने संकेत गर्नुभएकाे थियाे । बैठकमा यहि विषय मुख्य एजेन्डाका रूपमा उठ्ने तयारी रहेकाे एक नेताले बताएका छन ।

दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। तर नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा भने सांसदहरूबीच अझै सहमति बन्न सकेको छैन। उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल नेतृत्वको दौडमा देखिएका छन् । धर्म पाठक र सुरेन्द्र पालले पनि अवसर पाए जिम्मेवारी लिन तयार रहेको जनाएका हुन्।

बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दा पनि छलफलमा रहनेछ। विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको छ।

त्यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग उठाएका छन्। आगामी बजेटअघि नै निर्वाचन घोषणा हुन सक्ने आकलनकाबीच मन्त्री परिवर्तनको विषय पनि बैठकमा उठ्ने बताइएको छ। हाल सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन्।