Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अमेरिकाले नौसैनिक अभियान शुरू गरेपछि खाडी क्षेत्रमा तनाव बढ्याे

यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण

2.8k
Shares

एजेन्सी । अमेरिकाले नौसैनिक अभियान शुरु गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ ।

यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण भएको हाे । यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको बीबीसीले जनाएको छ । फुजैराह तेल बन्दरगाहमा भएको आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएका छन् । यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको हाे।

अमेरिका–इरान युद्धविरामपछि पहिलो पटक यूएईमा ‘मिसाइल अलर्ट’ बजेको छ । अहिले अवस्था सुरक्षित रहेको र स्थानीय बासिन्दाले सामान्य गतिविधि गर्न सक्ने बीबीसीले जनाएको छ । युएईमा पछिल्लो आक्रमण इरानले गरेको आशङ्का गरिएको छ । तर इरानले युएईलाई निशाना बनाउने कुनै योजना नभएको जनाएको हाे।

इरानले होर्मुज जलमार्गमा देखिने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने चेतावनी दिँदै आएको छ । फुजैराह यूएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुज भन्दा बाहिर पर्छ । ओमानमा पनि स्ट्रेट अफ होर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण भएको खबरमा उल्लेख छ ।

अमेरिकाले साेमबार मात्रै ७ वटा इरानी साना डुङ्गामा आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा इरानका ७ वटा डुङ्गामा आक्रमण भएको बताउनुभएको छ । तर इरानले अमेरिकी आक्रमणको प्रचार पूर्ण रूपमा गलत भएको दावी गरेको हाे ।