काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारी-तन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा अन्त्य गर्ने घोषणा गर्नुभएकाे छ ।
प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे ।

उहाँले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गर्नुभएकाे छ । अधिकांश पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने निर्णय लिएको समेत उहाँले स्पष्ट पार्नुभएकाे छ। प्रधानमन्त्री शाहले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको समेत जानकारी गराउनुभयाे ।
विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हित भन्दा बढी राजनीतिक दलका ‘स्लिपर सेल’ बनेको प्रधानमन्त्री शाहको आरोप छ। योग्यता भन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइएका कारण जनताको विश्वास प्रणालीप्रति कमजोर भएको उहाँकाे निष्कर्ष छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नभई शिक्षाको गुणस्तर सुधार्न र कर्मचारीको सम्मान जोगाउनका लागि गरेको उहाँले दावी गर्नुभयाे । यदि चाहने हो भने पार्टीले तत्कालै ठूला संगठन बनाउन सक्ने तर अर्को दलगत संगठन थप्दैमा सुधार हुँदैन भन्ने कुरा विगतले देखाइसकेको प्रधानमन्त्री शाहको ठहर छ ।










प्रतिक्रिया दिनुहोस्