काठमाडाैं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले यस्ताे जाेड दिनुभएकाे हाे । संगठनको गरिमा उच्च राख्न व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत आचरणमा सुधार आवश्यक रहेको बताउनुभयाे । उहाँले सुरक्षा निकायमा सरुवा र बढुवाको विषय अत्यन्तै संवेदनशील हुने भन्दै यसलाई अनुमानयोग्य र निष्पक्ष बनाउन निर्देशन दिनुभएकाे छ । सचिव श्रेष्ठले सुरक्षा निकायका समस्याहरू संगठनभित्रै र ‘चेन अफ कमाण्ड’ मार्फत समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
व्यक्तिगत वा संस्थागत समस्या लिएर बाहिर जाँदा त्यसले संगठनलाई नै क्षति पुर्याउनेतर्फ सचेत गराउँदै सचिव श्रेष्ठले आन्तरिक अनुशासनलाई मजबुत बनाउन महानिरीक्षक पाैडेललाई आग्रह गर्नुभयो । सशस्त्र प्रहरीको कार्यक्षेत्रका मुख्य चार खम्बा- सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग र विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले गरिरहेको कार्यको प्रशंसा गर्दै उहाँले सीमित स्रोत साधनका बाबजुद थप प्रभावकारी ढंगले अगाडि बढ्न निर्देशन दिनुभएकाे छ । विशेषगरी मनसुन नजिकिएकाले विपद् व्यवस्थापनका लागि आफ्ना स्रोत साधनसहित सक्रियता बढाउन उहाँले विशेष जोड दिनुभयो ।
दज्र्यानी चिन्हको गरिमा र औचित्य पुष्टि गर्ने गरी कार्यसम्पादन गर्न नवनियुक्त महानिरीक्षकलाई आग्रह गर्दै सचिव श्रेष्ठले गृह मन्त्रालयको तर्फबाट संस्थागत र व्यक्तिगत रूपमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्