Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विश्व बजारमा आपूर्ति हुने तेल उत्पादनको कोटा बढाउने ओपेक प्लस बैठकको निर्णय

आगामी जुनदेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा

910
Shares

एजेन्सी । तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’का सदस्य देशहरूले विश्व बजारमा आपूर्ति हुने तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् ।

बीबीसीले तेल बजारमा बढ्दो दबाब र अस्थिरता नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको जनाएको हाे । यसमा साउदी अरब र रूस सहित अन्य ५ वटा सदस्य देशहरू सामेल छन् । सात वटा प्रमुख तेल उत्पादक देशहरूले आगामी जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका हुन् । यो निर्णय पश्चिम एशियामा जारी द्वन्द्वका कारण तेलको मूल्यमा परेको असरलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिएको छ ।

ओपेक प्लसले जारी गरेकाे विज्ञप्तिमा विश्व बजारमा स्थिरता कायम गर्न सदस्य देशहरूबीच सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख छ । यो निर्णय अघि आइतबार अल्जेरिया, इराक, कजाखस्तान, कुवेत, ओमान, रूस र साउदी अरबबीच अनलाइन बैठक भएको थियो । यसअघि गत मार्च र अप्रिल महिनामा पनि ओपेक प्लसले दैनिक करिब २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरेको थियो । जसकै निरन्तरता स्वरूप नयाँ उत्पादन वृद्धि घोषणा गरिएको विश्लेषकहरूले बताएका छन् ।

उता संयुक्त अरब इमिरेट्स (यूएई) ले भने हालै ओपेक समूहबाट बाहिरिने घोषणा गरेको हाे । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीचको तनावका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेकाे समयमा यूएईले यस्तो निर्णय लिएको छ। यूएई बाहिरिएसँगै ओपेक समूहको संरचनामा समेत परिवर्तन आएको हाे ।