Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


राष्ट्रपति ट्रम्पको हर्मुजमा रोकिएका पानीजहाजलाई सुरक्षित निकास दिने घोषणासँगै तेलको मूल्यमा गिरावट

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७ दशमलव ५३ डलर कायम

4.6k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ हर्मुज जलमार्गमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ।

राष्ट्रपति ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत साेही क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो। बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १ सय ७ दशमलव ५३ डलर कायम भएको छ ।

अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १ सय १ दशमलव १० डलरमा झरेको हाे । उहाँले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिद्धता व्यक्त गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबीच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १ सय डलरमाथि नै रहेको छ। हर्मुजमा व्यापारिक आवागमन अझै पनि सीमित छ । दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्।

विश्लेषकहरूले दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ताहरू सुस्ताएका हुन्। राष्ट्रपति ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राख्नुभएकाे छ । इरानले भने युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रको ढुवानीमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान राख्दै आएको हाे।

यसैबीच, पेट्रोलियम निर्यातक देशहरूको संगठनले आगामी जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ।