काठमाडाैं । रसुवामा ३५ लाख रूपैयाँ मूल्यको साढे ४ सय थान अवैध भेपसहित कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
रसुवाको धुन्चेमा ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको ४ सय ३६ थान भेप फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाले गोसाईकुण्ड गाउँपालिका-६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो।
भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त कन्टेनरको अगाडि क्याबिनको भागमा लुकाएर राखिएको अवस्थामा ‘ELFBAR (30K puffs)’ लेखिएका भेप बरामद गरिएकाे प्रहरीले बताएकाे छ । प्रहरीले अवैध सामग्री ओसारपसारमा संलग्न रहेको आरोपमा आमाछोदिङमो गाउँपालिका-५ घर भएका ३४ वर्षीय चालक रवीन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको ४ सय ३६ थान भेप र कन्टेनर गाडीको अनुमानित बजार मूल्य ३५ लाख ९० हजार रूपैयाँ कायम गरिएको प्रहरीले जनाएकाे हाे।
पक्राउ परेका श्रेष्ठलाई बरामद सामान र सवारी साधनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको हाे।










प्रतिक्रिया दिनुहोस्