Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


लिपुलेक कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको भारतकाे दावी (विज्ञप्तिसहित)

नेपाल सरकारले राखेकाे सीमा विवाद सम्बन्धी दावीलाई भारतद्वारा अस्वीकार

2.9k
Shares

काठमाडाैं । भारतले नेपाली भूमि लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दावी गरेकाे छ।

साेही सम्बन्धमा नेपाल सरकारले राखेकाे सीमा सम्बन्धी दावीहरूलाई भारतले अस्वीकार गरेको हाे। नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाकाे बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार साँझ यस्तो टिप्पणी गर्नुभएकाे छ ।

प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको समेत दावी गर्नुभएकाे हाे । उहाँले लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग भएकाे समेत बताउनुभयाे । दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको बताउदै उहाँले यो कुनै नयाँ विकासक्रम नभएकाे जिकिर गर्नुभएकाे छ ।

नेपालले गरेको दावीका सम्बन्धमा भारतले ती दावीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय दावीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन नसक्ने समेत जिकिर गर्नुभयाे ।

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गर्नुभयाे ।