Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आईसीसी विश्वकप लिग-२ मा आज नेपालले यूएईको सामना गर्दै


273
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपालले यूएईको सामना गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान साढे ९ बजेदेखि नेपालले यूएईको सामना गर्ने भएको हो । नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रिने भएका छन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब रहेको हो । यहि वैशाख २२ गतेसम्म संचालन हुने शृंखलामा तीन वटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् । पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १ सय २ रनले पराजित भएको छ । दुई खेल खेलिसकेको यूएई पहिलो खेलमा नेपालसँग पराजित हुँदा दोस्रो खेलमा ओमानमाथि २५ रनको जित निकालेको टिम हो ।

नेपाल यूएईमाथि लगातार दबाब बढाउन शुक्रबारको खेलमा जित्नै पर्ने दबाबमा छ । यूएई भने नेपालमाथि बदला लिन चाहन्छ । शुक्रबारपछि वैशाख २० गते आइतबार ओमान र यूएई भिड्दै छन् । अन्तिम खेलमा नेपालले वैशाख २२ गते मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्ने भएको हो । लिग–२ को तालिकामा नेपाल र यूएई पुछारमा छन् ।

समान २२ खेल खेलेका दुई टिमले ६ खेलमा मात्र जित निकालेका हुन् । नेपाल १४ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई पुछारमा रहेको हो । घरेलु मैदानमा नेपाल शुक्रबार यूएईलाई रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ ।