Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५० रूपैयाँले बढ्यो (मूल्य सूचीसहित)

पेट्रोल, डिजेल र मट्टितेलको भने घट्यो

689
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटेको बताएको छ ।

निगमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको जनाएको हो । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । निगमले पेट्रोल लिटरमा २ , डिजेल र मट्टितेलमा भने १२ रुपैयाँले मूल्य घटेको जनाएको हो । योसँगै काठमाडौं उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १७ रुपैयाँ कायम भएको छ ।

यसअघि उपत्यका, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २ सय १९ रुपैयाँ थियो । त्यस्तै, सुर्खेत र दाङमा यसअघि २ सय १८ रहेको पेट्रोलको मूल्य अब २ सय १६ रुपैयाँ भएको छ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २ सय १४ रुपैयाँ भएको निगमले जनाएको हो ।

खाना पकाउने ग्यासको मूल्य १ सय ५० रुपैयाँले बढेको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको हो । निगमले आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको जानकारी गराएको छ । यसअघि पूरा सिलिण्डरको २ हजार १० र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो ।

त्यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलरले बढेको निगमले जनाएको छ ।