काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा बढ्दो प्रविधिकरणलाई आत्मसाथ गर्न नसकेकै कारण पार्टीले गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । पार्टीले प्रविधि नबुझ्नु र समयानुकूल रूपमा लागू गर्न नसक्नु नै निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण भएको उहाँको स्वीकारोक्ति छ । उहाँले पार्टीलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिमा पार्टी अघि बढिरहेको रहेको पनि बताउनु भयो ।
उहाँले नेपाली काँग्रेसलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्यका साथ सदस्यहरूलाई प्रविधिसँग जोड्ने काम भइरहेको पनि उल्लेख गर्नुभयो । पार्टी सदस्यहरूको योगदान र इतिहास सुरक्षित राख्ने, पार्टीले सदस्य पहिचान गर्ने तथा सदस्यहरूले अझ प्रभावकारी रूपमा योगदान गर्न सक्ने वातावरण सिर्जना गर्ने दिशामा अघि बढिरहेको जिकिर पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति पूर्णरुपमा प्रविधिकरण भएको छ ।
यो बेला डिजिटलाइजेशनको प्रक्रिया आत्मसाथ गर्न सकिएन भने हामीले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सक्दैनौँ । यी कतिपय कुराहरु नबुझेको र आत्मसाथ गर्न नसकेको कारणले पनि हामीले निर्वाचनमा उपलब्धी हासिल गर्न नसकेका हौँ । त्यसकारण हामी नेपाल काँग्रेस पार्टीलाई पूर्ण रुपमा प्रविधिमैत्री पार्टीका रुपमा विकास गर्न खोजिरहेका छौँ । सदस्यहरु समेत प्रविधिको रुपमा जोड्न खोजिरहेका छौँ ।
पार्टी र पार्टी सदस्यबीचकाचे दूरि कम गर्नको लागि पनि नेपाली काँग्रेस पार्टीलाई डिजिटलाइज गर्न जरुरी छ । यसलाई अरुले फरक ढंगले बुझेको पनि पाइयो । बुझाई सही भएपनि व्याख्या फरक ढंगले गरेको पनि पाइयो । पार्टी सदस्यहरुको योगदान र इतिहासलाई सुरक्षित गर्ने, पार्टीले सदस्य चिन्ने र सदस्यले पार्टीलाई बढीभन्दा बढी योगदान गर्नसक्ने स्थिति निर्माण गर्न खोजिएको हो ।’ उहाँले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नभई कार्यान्वयनमा आएको भन्दै असन्तुष्टि जनाउनु भयो ।










प्रतिक्रिया दिनुहोस्