Logo २९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026


देशका विभिन्न भागमा आज तीव्रगतिको हावाहुरी चल्ने

उच्च सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह

624
Shares

काठमाडाैं । देशका विभिन्न भागमा बुधबार तीव्रगतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना देखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको हाे।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ पनि जारी गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले बुधबार विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, गण्डकी तथा बागमती प्रदेशका नवलपुर, चितवन, मधेश प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा तीब्रगतिको हावाहुरी चल्ने सम्भावना रहेकाे बताउनुभयाे ।

यो मौसमी प्रणाली पश्चिमबाट शुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ । हावाहुरी, मेघगर्जन र चट्याङ शुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र जान उहाँको सुझाव छ । कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन पनि उहाँले सचेत गराउनुभयो ।

कार्यकारी प्रमुख भट्टले विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयम्सेवकहरूलाई उच्च सतर्कतामा राखिएको बताउनुभएकाे छ ।