एजेन्सी । रुसको राजधानी मस्कोको उत्तरी क्षेत्रमा अवस्थित एक निजी निर्माण स्थलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
मस्कोका मेयर सेर्गेई सोब्यानिनले मंगलबार सामाजिक सञ्जाल टेलिग्राममार्फत यस दुःखद घटनाको पुष्टि गर्नुभएकाे हाे । मेयर सोब्यानिनले मस्कोको ‘एरोपोर्ट’ जिल्लामा रहेको उक्त निर्माण स्थलमा आगलागी भएको बताउनुभएकाे छ । घटनाको जानकारी पाउनासाथ आपत्कालीन सेवाका सदस्यहरू र चिकित्सा टोलीहरू घटनास्थलमा परिचालन गरिएको उहाँकाे भनाइ छ।
रुसी समाचार एजेन्सी ‘तास’ ले आपत्कालीन सेवाका अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएकाे जनाएकाे हाे । करिब १ हजार ४ सय वर्ग मिटर क्षेत्रमा फैलिएको उक्त आगोलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको थियो । सुरक्षा नियमहरूको सम्भावित उल्लंघनका कारण आगलागी भएको आशंका गर्दै अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा आपराधिक मुद्दा दर्ता गरेका छन् ।
साेही घटनाको विस्तृत छानविन र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको समाचारमा उल्लेख गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्