Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने अध्यक्ष पाण्डेकाे दावी

१० वर्षे नीतिगत स्थिरता र कानूनी सुधार नै समृद्धिको आधार भएकाे तर्क

0
Shares

काठमाडाैं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १ सय अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने दावी गर्नुभएको छ ।

काठमाडौंमा मंगलबार ‘अर्थको अर्थ’ कार्यक्रमको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अध्यक्ष पाण्डेले निजी क्षेत्रले यसका लागि स्पष्ट प्रतिवद्धता र मार्गचित्र तयार पारिरहेको बताउनुभयाे । पहिलो चरणको आर्थिक सुधारपछि नेपालले केही प्रगति गरे पनि समयक्रमसँगै ‘सेकेण्ड जेनेरेसन’ सुधार हुन नसक्दा अर्थतन्त्रले सोचेजस्तो गति लिन नसकेको बताउनुभएकाे छ।

अध्यक्ष पाण्डेले मुलुकमा उद्योग, उत्पादन र रोजगारी सिर्जनाका लागि कम्तिमा १० वर्षसम्म नीतिगत परिवर्तन नहुने सुनिश्चितता कायम गरिनुपर्ने बताउनुभयो । लगानीकर्तालाई विश्वासमा लिन ‘प्रेडिक्टिबिलिटी’ र लामो समयको ‘भिजिबिलिटी’ महत्वपूर्ण हुने उहाँको तर्क छ । सुशासनका लागि सार्वजनिक सेवालाई ‘फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस’ बनाउनुपर्नेमा उहाँको जोड छ । अनलाइन ‘सिंगल विन्डो’ प्रणाली निर्माण गरी स्थानीय तहसम्म लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पाण्डेले व्यवसायिक कसुरमा व्यवसायीलाई थुनेर अनुसन्धान गर्ने विद्यमान परिपाटीले त्रासको वातावरण सिर्जना गरेको बताउनुभएकाे छ । परिसंघले सुझाए अनुसार पुराना एवं असान्दर्भिक कानूनहरूको खारेजी र नयाँ प्रविधि र समय अनुकूलका कानूनहरूको निर्माण गरिनुपर्ने उहाँको माग छ । यसले गर्दा लगानीको वातावरण सुधार हुने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने उनले विश्वास व्यक्त गर्नुभयो ।