Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


मनोहरामा सुकुम्बासी बस्ती खाली गराउने क्रम आज पनि जारी

देशैभरी करिब १६ लाख सुकुम्बासी परिवार रहेको सरकारी आँकडा

481
Shares

काठमाडाैं । भक्तपुरको मनोहरा नदी आसपासको सुकुमवासी बस्तीका घरहरु भत्काउनेक्रम साेमबार पनि बिहानैदेखि जारी छ ।

१३ वटा डोजर प्रयोग गरेर साेमबार बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन थालिएको हो । मनोहरा खोला किनारमा रहेको बस्ती हिजो बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले साेमबार बिहान पनि सो कामलाई जारी राखिएको हो । घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीसँगै डोजरहरु प्रयोग गरिएको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा पूर्णरुपमा भत्काइएको छ ।

त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको हाे । काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुम्बासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ । यी क्षेत्रमा तीन हजार ४ सय ९६ घरटहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको हाे ।

जसमध्ये काठमाडौं महानगरमा २ हजार १ सय ७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १ सय ५६, गोदावरीमा २ सय १५, ललितपुर महानगरमा १७ र भक्तपुर जिल्लामा ७ सय ७३ अवैध घरटहरा रहेका हुन्  । देशैभरी करिब १५ देखि १६ लाखसम्म सुकुम्बासी परिवार रहेको सरकारी आँकडा छ ।