Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच टेलिफोन संवाद

क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

208
Shares

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियनसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री सरिफले क्षेत्रीय शान्ति र सुरक्षाका लागि पाकिस्तानको दृढ प्रतिबद्धता दोहोर्‍याउनुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे हाे। संवादका क्रममा दुवै नेताले वर्तमान क्षेत्रीय परिस्थिति र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासहरूकाे बारेमा विस्तृत विचार आदानप्रदान गरेकाे जनाइएकाे छ। प्रधानमन्त्री सरिफले पाकिस्तानले क्षेत्रीय शान्ति र सुरक्षाका लागि आफ्ना प्रयासहरू जारी राख्ने बताउनुभयो ।

प्रधानमन्त्री सरिफले गत अप्रिल ११ र १२ तारिखमा इस्लामावादमा भएको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डको भ्रमणको प्रशंसा गर्नुभएकाे छ । साथै, उहाँले इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीको नेतृत्वमा इस्लामावाद पुगेको अर्को प्रतिनिधिमण्डललाई पनि स्वागत गर्नुभयो । जसले साेमबारै पाकिस्तानी राजधानीमा महत्वपूर्ण भेटघाटहरू गरेको छ । प्रधानमन्त्री सरिफले हालैका दिनमा विभिन्न विश्व नेताहरूसँग भएका आफ्ना कूटनीतिक प्रयासहरूकाे बारेमा पनि जानकारी गराउनुभएकाे छ। यी प्रयासहरूले द्वन्द्वग्रस्त क्षेत्रमा स्थायी शान्ति प्राप्त गर्नका लागि वार्ता र कूटनीतिलाई समर्थन गर्न बृहत्तर सहमति जुटाउन मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो ।

आफ्नो तर्फबाट इरानी राष्ट्रपति पेजेस्कियनले जारी शान्ति प्रयासहरूमा पाकिस्तानको योगदानको प्रशंसा गर्नुभएको जारी विज्ञप्तिमा भनिएकाे छ ।