काठमाडौं । सरकारले काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाएको छ ।
अभियानका क्रममा शनिबार काठमाडौं महानगरपालिका अन्तर्गत तीन स्थानका बस्ती खाली गरिएकाे हाे । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित बागमती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र र वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका छन् ।
सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचना डोजर प्रयोग गरी भत्काइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयाे । उहाँले थापाथली क्षेत्रमा स्थायी संरचना कम भएकाले काम छिटो सम्पन्न भएको र गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरको सङ्ख्या बढी भएकाले भत्काउन काम राति अबेर मात्र सकएिको बताउनुभएकाे छ।
सरकारको निर्देशन अनुसार संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनैभरी प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेको थियो । त्यसपछि मात्र डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको थियो ।
त्यस्तै, भक्तपुरकाे मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार बिहानैदेखि प्रहरीले घेरा हालेर डोजर चलाएको छ । आफ्नो थातथलो भत्काइएपछि सुकुम्बासीहरु सामान र गाईवस्तु सार्न व्यस्त देखिएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आइतबार बस्तीमा डोजर चलाइएको हो । प्रहरीले साविकको बस्ती क्षेत्रलाई चारैतिरबाट घेरा हालेर डोजर चलाउन थालेपछि त्यहाँका स्थानीयबासीहरु बिचल्लीमा परेका छन् ।
वर्षौंदेखि बस्दै आएको आफ्नो टहरो भत्काउन थालेपछि सुकुम्बासीहरु आफ्ना सामानहरु पोका पार्न र गाईवस्तुहरु बाँधेर सुरक्षित स्थानतर्फ लैजान व्यस्त देखिएका छन् । बस्ती भत्काउन आएका डोजरलाई रोक्न केही स्थानीयले प्रयास गरेपनि ठूलो संख्यामा परिचालित प्रहरीले दिएनन् । हाल बस्ती क्षेत्रमा डोजरले टहराहरु भत्काइरहेको छ भने विस्थापितहरु आफ्ना सरसामान सडक किनारमा थुपार्न बाध्य भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्