Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


शान्तिपूर्ण रूपमा टहरा हटाइँदै, थापाथलीमा ४० प्रतिशत संरचना हट्यो


455
Shares

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका अवैध घरटहरा शान्तिपूर्ण रूपमा हटाउने अभियान तीव्र बनाइएको छ। हालसम्म करिब ४० प्रतिशत संरचना हटाइसकिएको ईश्वरराज पौडेल ले जानकारी दिएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिका को संयुक्त टोलीले बल प्रयोग नगरी घरटहरा हटाइरहेको छ। स्थानीय बासिन्दाले समेत सहयोग गरिरहेकाले अभियान शान्तिपूर्ण रूपमा अघि बढिरहेको प्रशासनले जनाएको छ।

सरकारले यसअघि नै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। हटाइएका परिवारलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखी विवरण संकलन भइरहेको छ भने वास्तविक सुकुमबासी पहिचानपछि अस्थायी बसोबासको व्यवस्था गरिने बताइएको छ।

अभियानमा सुरक्षाकर्मी, प्राविधिक, डोजर, एम्बुलेन्स र ट्रक परिचालन गरिएको छ। अपांगता भएका, ज्येष्ठ नागरिक, बिरामी, गर्भवतीलगायतलाई विशेष सहायतासमेत उपलब्ध गराइएको प्रशासनले जनाएको छ।

आज थापाथलीसँगै गैरीगाउँ–सिनामंगल क्षेत्रमा पनि संरचना हटाइने र समयअनुसार मनोहरा क्षेत्रमा समेत अभियान सुरु गरिने तयारी छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह ले उपत्यकाका नदी किनारमा बनेका अवैध संरचना हटाउन निर्देशन दिएका थिए।