काठमाडाैं । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो।
वैशाख १० गते बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए।
प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा प्रदेश प्रमुख घर्ती मगरले अधिवेशन अन्त्य गरेका हुन्। हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए। बिहीबार बिहान साढे ११ बजे बसेको १६ औं बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्य सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाएका थिए।
१६ औँ बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सर्वसम्मत पारित गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जबाफ मन्त्री भूमिश्वर ढकालले दिएका थिए। त्यस्तै सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेस गरेका थिए।
प्रदेश सभा सदस्यहरू बसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमुना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीले शून्य समयमा समसामयिक विषयमा भनाइ राखेका थिए।









प्रतिक्रिया दिनुहोस्