काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) जलविद्युत क्षेत्रको विकास र सरकारले लिएको ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गरेकाे छ।
सुदूरुपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले यस्तो माग गर्नुभएको हो । मुलुकको उर्जा क्षेत्रमा देखिएका समस्याहरूको मुख्य जड प्रशारण लाइन रहेको भन्दै यसमा निजी क्षेत्रलाई प्रवेश दिनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष डाँगीले सुदूरपश्चिम प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन क्षमता रहेपनि हाल केवल १ सय ५९ मेगावाट मात्र उत्पादन हुनु दुःखद् रहेको बताउनुभएकाे छ । २०५५ सालदेखि निजी क्षेत्रले उर्जा उत्पादनमा प्रवेश पाए यता हालसम्म करिब ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिसकेको उल्लेख गर्नुभयाे । सोहीअनुसारको उदार नीति अन्य क्षेत्रमा पनि आवश्यक रहेको बताउनुभएकाे छ ।
जलविद्युत आयोजनाले स्थानीय स्तरमा विकास र समृद्धि दुवै लिएर आउने दावी गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले स्थानीय शेयरको विषयमा पनि निजी क्षेत्र संवेदनशील रहेको बताउनुभयो । सरकारले लिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजना पूरा गर्न निजी क्षेत्र पूर्ण रुपमा तयार रहेको तर त्यसका लागि आवश्यक पूर्वाधार र नीतिगत वातावरण निर्माणमा सरकारले कन्जुस्याँई गर्न नहुने उहाँकाे भनाइ छ।









प्रतिक्रिया दिनुहोस्