काठमाडाैं । नेपालका कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस बुधबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ ।
हाल अस्तित्वमा रहेका विभिन्न कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रम आयोजना गरेर यस दिवसलाई मनाउने भएका हुन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा बुधबार विभिन्न कार्यक्रम गरिदैछ । जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
त्यति बेला पुष्पलाल पार्टीको महासचिव बन्नुभएको थियो । स्थापनाको ८ दशक पुग्न लाग्दा नेपालमा कम्युनिष्ट पार्टीहरुले पटक–पटक शासन सत्ता चलाएका छन् । २०४६ सालको जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन अहिले धरापमा परेको छ ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीहरूमा सिद्धान्त र नीति भन्दा पनि व्यक्तिवाद हावी हुँदा अहिले देशमा कम्युनिष्ट आन्दोलन नैं धरापमा पर्दै गएकाे हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधसभा सदस्यकाे निर्वाचनमा संघीय संसदमा कम्युनिष्टहरुको भूमिकालाई २०४६ साल यताकै कमजोर अवस्थामा पुर्याएको छ ।
यसैबीचमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्नेमा जाेड दिंदै आउनुभएकाे छ। वामपन्थी एकताका लागि भन्दै नेकपा नता र नेकपा एमालेका नेताबीच केही दिन यता संवाद हुँदै आएकाे समेत छ ।









प्रतिक्रिया दिनुहोस्