एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको दुई हप्ते युद्धविरामको समय सकिनै लाग्दा यसको समय थप गर्ने घोषणा गर्नुभएको छ ।
युद्धविरामको समय सकिन केही घण्टा मात्रै बाँकी रहँदा गरिएको यो निर्णयले शान्ति वार्तालाई निरन्तरता दिने उद्देश्य राखेको हाे । पाकिस्तानको आग्रहमा युद्धविराम विस्तार भएको रोयटर्सले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले अमेरिकी कदमको स्वागत गर्दै दुवै पक्ष स्थायी शान्ति सम्झौतामा पुग्ने अपेक्षा व्यक्त गर्नुभयाे ।
तर इरानले यो युद्धविरामको समय बढाएको विषयमा औपचारिक सहमति दिएको स्पष्ट छैन । इरानी पक्षले अमेरिकाको निर्णयलाई एकतर्फी भन्दै अस्वीकार गर्ने गर्न सक्ने आशंका पनि गरिएको छ । इरानले यसलाई आकस्मिक आक्रमणको तयारीका लागि समय लिएको आशंका गरेको हाे । युद्धविरामको समय थप भए पनि अमेरिका आफ्नो नौसैनिक नाकाबन्दी कायम राख्ने पक्षमा रहेकाे छ ।
अमेरिकाले इरानका बन्दरगाहहरूमा जारी नाकाबन्दीलाई निरन्तरता दिने जनाएकाे हाे। जसलाई इरानले भने युद्धकै संज्ञा दिएको छ । करिब ५० दिनदेखि चलिरहेको युद्ध अन्त्यका लागि पाकिस्तानमा दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको हाे । तर वार्ताको मिति र सहभागिताकाे बारेमा अझै अन्योल कायमै रहेकाे छ । पश्चिम एशियामा जारी युद्धले हजारौँ मानिसको ज्यान गएको हाे । विश्व अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको छ ।
गत चैत २४ गते इरान र अमेरिकाबीच दुई हप्ताका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएको थियो ।









प्रतिक्रिया दिनुहोस्