काठमाडाैं । नेपाली बजारमा केराको हाहाकार देखिएको छ ।
खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरुले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकूल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको व्यापारीहरुको भनाइ छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघि सम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिँदा बजारमा अभाव देखिएको थिएन । तर संघकै पहलमा त्यस्ता अवैध केराको विक्री वितरणमा रोक लगाएपछि बजारमा एकाएक आपूर्ति घटेको हो । नेपालको उत्पादन अत्यन्तै कम रहेकाे र अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको उहाँले बताउनुभयो ।
अध्यक्ष बानियाँका अनुसार हाल गुणस्तरीय केरा अभाव हुँदा केही स्थानमा ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म तिरेर खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । उहाँले सीमाना र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै यसलाई अझ कडाइका साथ रोक्नुपर्ने बताउनुभयो ।
किसानले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बजारमा पठाएको दावी गर्दै बीचका व्यवसायीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन् । तर अध्यक्ष बानियाँले यसलाई अस्वीकार गर्नुभएकाे हाे । उहाँले अहिले बजारमा उपलब्ध धेरै जसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेकाे जिकिर गर्नुभयाे । किसानले उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ, नत्र बजारमा बेच्न कठिन हुने उहाँको भनाइ छ ।
सरकारले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरिरहेको भए पनि वास्तविक उत्पादन ३० प्रतिशत हाराहारी मात्र रहेको अध्यक्ष बानियाँको दावी छ । उहाँले क्रमिक रूपमा आयात नियन्त्रण गर्दै उत्पादन बढाउने नीति लिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले किसान र व्यवसायीबीच समन्वयको अभाव रहेको बताउनुभयाे । राज्यले किसान र व्यवसायीलाई नङ्ग्रा–मासु जस्तो बनाउनुपर्नेमा उल्टै फाटो ल्याएको उहाँले गुनासो समेत गर्नुभएकाे छ ।
साथै व्यवसायीका गुनासा सुन्न सरकार उदासीन रहेको भन्दै कृषि मन्त्रीसँग भेटघाटको समय समेत नपाएको समेत अध्यक्ष बानियाँले गुनासो गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्