एजेन्सी । भारतको बिहार प्रदेशका मुख्यमन्त्री एवं जनता दल (युनाइटेड) का वरिष्ठ नेता नीतीश कुमारले पदबाट राजीनामा दिनुभएको छ ।
लामो समयदेखि बिहारको सत्ता सम्हाल्दै आएका कुमारले मंगलबार राजीनामा दिनुभएको हो । राजीनामासँगै बिहारमा अब नयाँ सरकार गठनको बाटो खुलेको छ । राजीनामापछि नीतीशले बिहारमा बन्ने नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । सन् २००० मा पहिलो पटक केवल सात दिनका लागि मुख्यमन्त्री बन्नुभएका नीतीशको बिहारमा लामो र प्रभावकारी शासनकाल सन् २००५ को नोभेम्बर महिनाबाट सुरु भएको थियो । आफ्नो २१ वर्ष लामो शासनकालमा बिहारमा गरेका सुधारका कार्यहरूका कारण उहाँलाई ‘सुशासन बाबु’ को उपनामले पनि चिनिन्छ ।
यद्यपि, पछिल्ला केही वर्षहरूमा बारम्बार राजनीतिक गठबन्धन परिवर्तन गरेका कारण उहाँको वैचारिक प्रतिबद्धतामाथि प्रश्न उठ्दै आएको थियो । नीतीशको राजीनामापछि अब ५७ वर्षीय सम्राट चौधरीले बिहारको मुख्यमन्त्रीको पद तथा गाेपनीयताकाे सपथ ग्रहण लिनुहुने भएकाे छ । भारतीय जनता पार्टी (भाजपा) ले उपमुख्यमन्त्री चौधरीलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो ।
शुरुमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र नितिश कुमारको जेडियूसँग आबद्ध चौधरी सन् १९९९ मा राबडी देवी नेतृत्वको सरकार र भाजपा सहयोगी दल हुँदा कृषि मन्त्री बन्नुभएको थियो । सम्राटको नयाँ यात्रा उहाँका लागि मात्र नभइ, भाजपाकै लागि पनि चुनौतीपूर्ण रहेको भारतीय राजनीतिमा विश्लेषण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्