Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नयाँ वर्षले साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने राष्ट्रपति पाैडेलकाे विश्वास


117
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएकाे छ।

नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राख्नुभएकाे हाे । उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिनुभएकाे छ। राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयाे ।

राष्ट्रपति पौडेलले हालैै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको समेत उल्लेख गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले नयाँ वर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामथ्र्य पैदा गरोस् र नेपालीकाबीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गरोस् भन्ने कामना गर्नुभयाे ।