Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र सुदूरपश्चिम प्रदेशकाे जित

लुम्बिनी र नेपाल पुलिस क्लब भने पराजित

234
Shares

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएका खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

वीरगञ्जमा आइतबार भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेकाे हाे। लुम्बिनीले दिएको २ सय ८ रनको लक्ष्य गण्डकीले ४४ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । गण्डकीका अर्जुन कुमालले नटआउट १ सय ३ रन बनाए । प्रतियोगितामा अर्जुनको यो दोस्रो शतक हो । यसअघि उनले कोशी प्रदेशसँगको खेलमा शतक बनाएका थिए । लुम्बिनीका सन्तोष यादव र दिनेश बोहराले १/१ विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४५ ओभरमा २ सय ७ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका सन्तोष यादवले ८२ रन बनाएका छन् । गण्डकीका विपिन खत्रीले ४ विकेट लिएका हुन् । यो जितसँगै गण्डकी ८ खेलमा ७ अंकसहित तालिकाको आठौं स्थानमा छ । लुम्बिनी ७ खेलमा ७ अङ्कसहित नेट रन रेटका आधारमा सातौं स्थानमा रहेकाे हाे ।

त्यस्तै, जनकपुरमा आइतबार भएको अर्काे खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। सुदूरपश्चिमले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५ ओभर १ बलमा १ सय ३५ रनमा अलआउट भयो । पुलिसका गुल्सन झाले ५० रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले ३/३ विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४० ओभर ४ बलमा १९१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका नारायण जोशीले ८२ रन बनाएका छन्। पुलिसका दिनेश खरेलले ४ विकेट लिएका थिए । यो जितसँगै सुदूरपश्चिम ९ खेलमा १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पुलिस ८ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहेकाे हाे ।