काठमाडौं, असोज ११ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाइसेन्समा कडाइ, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।
यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ ।
यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो । दसैं–तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो ।
चालकले जुत्ता लगाए/नलगाएको अनुगमन ट्राफिक प्रहरीले गर्नेछ । जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।
चालकले जुत्ता लगाउनैपर्ने भन्ने नयाँ नियम भने होइन । भइरहेकै सरकारी निर्देशिकालाई कार्यान्वयन गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्