Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


प्रधानमन्त्री शाहले आज भारत र चीनसहित एक दर्जन बढी देशका राजदूतसँग सामूहिक संवाद गर्दै

संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने विश्वास

1.2k
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार काठमाडौंमा भारत र चीनसहित एक दर्जन बढी देशका राजदूतहरूसँग बुधबार सामूहिक रुपमा भेटवार्ता गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री शाहले राजदूतहरूसँग बुधबार सामूहिक भेटवार्ता गर्न लागेकाे उहाँका राजनीतिक सल्लाहकार असिम शाहले जानकारी दिनुभएको हो । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने जनाइएको छ । सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।

राजनीतिक सल्लाहकार शाहले कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी रहेकाे बताउनुभयाे । उक्त कार्यक्रममा परराष्ट्रमन्त्री खनाल, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रोटोकल प्रमुख कुमार राई र सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री लगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ । नयाँ सरकार गठन भएपछि मित्रराष्ट्रहरुलाई विश्वस्त गराउन तथा पररराष्ट्र नीतिकाे बारेमा जानकारी गराउन राजदूतहरुसँग भेट गर्ने प्रचलन रहँदै आएको छ ।

नयाँ सरकारका प्राथमिकता, राष्ट्रिय आवश्यकता र दुईपक्षीय एवं बहुपक्षीय सहकार्यकाे बारेमा पनि प्रधानमन्त्री शाहले जानकारी गराउनुहुने भएकाे राजनीतिक सल्लाहकार शाहले बताउनुभयाे।