Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कपिलबस्तुमा ज्यान मार्ने उद्योगमा गाउँपालिका उपाध्यक्ष पक्राउ


0
Shares

काठमाडाैं । कपिलवस्तु प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा एक गाउँपालिका उपाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष लाला भन्ने होमप्रकाश चौधरी रहनुभएको छ ।

सीमा क्षेत्रमा ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि साङ्घातिक आक्रमण र हतियार खोस्ने प्रयास गरेपछि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको बीओपी हथिहवामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भीमबहादुर चौधरी नेतृत्वको टोली शिवालय बोर्डर चेकपोस्टमा नियमित जाँचमा खटिएको अवस्थामा सो विवाद भएको थियो ।

भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेका एक व्यक्तिलाई जाँच गर्ने क्रममा ती व्यक्तिले आफू “लालाको मान्छे” भएको भन्दै फोनमा कुरा गर्न आग्रह गरेका थिए । ड्युटीमा रहेका प्रहरीले फोनमा कुरा गर्न अस्वीकार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीका अनुसार केही समयपछि शुद्धोधन गाउँपालिका–५ निवासी उपाध्यक्ष चौधरी सरकारी गाडीमा चेकपोस्टमा पुग्नुभएको थियो । उहाँले ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक हवल्दारमाथि आक्रमण गरी उहाँसँग रहेको बन्दुक खोस्ने प्रयास गर्नुका साथै प्रहरीको पोसाक समेत च्यातिदिनुभएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । कुटपिटबाट सुरक्षाकर्मीका शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको थियो । उहाँमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान भइरहेको डीएसपी सिंहले बताउनुभयो ।

जिल्ला अदालत कपिलवस्तुले उपाध्यक्ष चौधरीमाथि अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ । प्रहरीले घटनाबारे थप प्रमाण सङ्कलन गरिरहेको र कानुन अनुसार कडा कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।