काठमाडौं ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ ।
देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ ।
तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य एवं समन्वय गर्ने रणनीति अनुरुप यो समझदारी भएको जनाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा भएको समझदारीमा कार्यालय प्रमुख डा. कमल प्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितीमा कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गर्नुभयो । सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्