बिराज रोस्यारा (इमेज)
कैलाली, असोज १० । प्रदेश नम्बर–७ को स्थायी राजधानीका विषयमा सत्तारुढ र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यबीच मतभेद देखिएको छ ।
प्रदेश–७ को स्थायी राजधानी र नामांकनका लागि गठित विशेष सुझाव समितिले मंगलबार प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेको थियो ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा सो प्रतिवेदनमाथि छलफल भएको हो । प्रतिवेदनलाई सत्तारुढ दलका प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । विपक्षी दलका सांसदले विरोध जनाएका हुन् ।
सुझाव समितिले प्रतिवेदनमा प्रदेश–७ को स्थायी राजधानीका लागि कैलाली, गोदावरीको तेघरी र नाम ‘सुदूरपश्चिम’ सिफारिस गरेको छ ।
विपक्षी प्रदेश सांसदले स्थायी राजधानीको स्थानका विषयमा आपत्ति जनाएका छन् ।
बैठकमा आफ्नो धारणा राख्ने सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले विशेष सुझाव समितिको प्रतिवेदनलाई पारित गर्नुपर्ने बताएका थिए । उनीहरुले स्थायी राजधानीका लागि तेघरी उपयुक्त रहेको जिकिर गरे ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले धनगढीमा भौतिक संरचनाका लागि करोडौं रकम खर्च गरेर अहिले राजधानी सार्ने प्रस्ताव उपयुक्त नहुने बताए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले पनि प्रतिवेदनमा उल्लेख प्रदेश राजधानीका विषयमा असन्तुष्टि व्यक्त गरे ।
बुधबार २२ जना प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।
बिहीबार प्रदेशसभा बैठक नबस्ने र शुक्रबार पारितका लागि प्रस्ताव पेस गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मंगलबार विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले पेस गरेको प्रतिवेदनमाथि बुधबारको बैठकमा छलफल भएको हो ।
सोही विषयलाई लिएर केही स्थानीयसहितको असन्तुष्ट पक्षले बुधबारै धनगढीस्थित प्रदेशसभा भवनबाहिर टायर बालेर प्रदर्शन गरेको थियो ।
सो समितिले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको प्रदेश–७ को अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्