Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


आईपीएल क्रिकेटमा रोयल बैंगलोर र लखनउ जायन्ट्स विजयी

आईपीएल क्रिकेटमा आज पञ्जाबले कोलकताको सामना गर्दै

182
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई ४३ रनको फराकिलो अन्तर पराजित गरेको छ ।

भारतको एम चिन्नास्वामी रंगशालामा आइतबार राति सम्पन्न भएको खेलमा बैंगलोरले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २ सय ७ रन बनाउँदै अलआउट भएको हो। बैंगलोरका भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पाण्ड्याले समान दुई विकेट र सुयाष शर्माले एक विकेट लिएका छन् ।

चेन्नईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाएका थिए । टस हारेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २ सय ५० रन बनाएको थियो । जितसँगै बैंगलोरले प्रतियोगितामा चार अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । अहिलेसम्म तीन खेल खेलेको चेन्नई तीनै खेलमा पराजित हुँदै अंकविहीन भएको हो ।

त्यस्तै, आइतबारै भएको अर्को खेलमा लखनउ सुपर जायन्ट्सले विजयी शुरुवात गरेको छ । ऋषभ पन्तको अर्धशतकसँगै लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । यस सिजनको लखनउको यो पहिलो जित हो । जितबाट पहिलो दुई अंक जोडेको लखनउ अंक तालिकाको ७ औँ स्थानमा छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदरावादले दिएको १ सय ५७ रनको लक्ष्य लखनउले १९ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदरावादले लखनउविरुद्ध निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । तीन खेल खेलेको सनराइजर्स तालिकाको ५ औँ स्थानमा छ । आईपीएल क्रिकेटमा सोमबार पञ्जाब किंग्सले कोलकता नाइट राइडर्सको सामना गर्ने भएको हो ।

खेल कोलकताको इडेन गार्डन क्रिकेट रंगशालामा नेपाली समयअनुसार सोमबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ।