काठमाडाैं । नेपाल प्रहरीले गुण्डागर्दी र बिचौलियाको आरोपमा चार दिनमा २ सय २६ जनालाई पक्राउ गरेको छ ।
चैत १८, १९, २० र २१ गतेको खोजी अभियानमा २ सय २६ जनालाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया थालिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभएकाे हाे । उनीहरू गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहार लगायतका गैरकानूनी कार्यविरुद्ध पक्राउ परेकाे प्रहरीले बताएकाे छ।
सार्वजनिक सेवा प्रवाहमा हैरानी दिने, सार्वजनिकस्थल बसपार्क र विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएको उहाँको भनाइ छ । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको पनि उहाँले जनाकारी गराउनुभयाे ।
प्रहरी प्रधान कार्यालयको विवरण अनुसार चैत १८ गते काठमाडाैं उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेश प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए । त्यस्तै, २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई र २१ गते काठमाडाैं उपत्यकाबाट ६२ जना पक्राउ परेकाे कार्यालयले जनाएकाे छ ।
अभियान निरन्तर चलिरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो । साेही क्रममा गुण्डागर्दीको आरोपमा ‘सानुभाइ’ भनिने युवराज गुरुङ पनि पक्राउ परेका छन् । कारबाही चलाउन देशभरीका प्रहरी कार्यालयमा परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो ।
यसैबीच जिल्ला प्रहरी परिसर भक्तपुरले पनि शनिबार राति ६० जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।








प्रतिक्रिया दिनुहोस्