Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतना कार्यक्रम


234
Shares

वीरबहादुर बम,मुगु ।

जिल्ला प्रहरी कार्यालय मुगुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले समुदायस्तरमा जनचेतना कार्यक्रमलाई तीव्रता दिएको छ। “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत सडकमै जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो।

मुगुको सदरमुकाम गमगढी बजारस्थित न्युरोडमा आज दिउँसो आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक पृथ्थीराज शाहीले सहजीकरण गर्दै स्थानीयवासी, सवारी चालक तथा पैदलयात्रीलाई ट्राफिक नियम पालना, सावधानी अपनाउने उपाय तथा दुर्घटनाबाट जोगिने तरिकाबारे जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूलाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने व्यवहारिक नियमहरूबारे प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग सहकार्य गर्दै शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने लक्ष्य लिएको प्रहरीले जनाएको छ।

यसैगरी सडकमा छाडा पशु चौपाया छाड्ने कार्यले पनि दुर्घटनाको जोखिम बढाउने भएकाले यस विषयमा सबै नागरिक सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।

प्रहरीका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रम बिदाका दिन बाहेक हरेक दिन सञ्चालन हुँदै आएका छन्। दुर्गम क्षेत्रमा बढ्दो सवारी जोखिमलाई मध्यनजर गर्दै नागरिकमा चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीहरूले पनि सडकमै आएर प्रहरीले दिएको प्रशिक्षण प्रभावकारी भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।