काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ।
भारतमा शनिबार राति भएको खेलमा उच्च स्कोर बनेको खेलमा राजस्थानले दिएको २ सय११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रनमा समेटिएको हो। अन्तिम ओभरसम्मै कौतुहलता कायम रहेको खेलमा गुजरातलाई जितका लागि अन्तिम केही बलमा ठूलो सटको आवश्यकता थियो। तर, राजस्थानका बलरहरूले कसिलो बलिङ गर्दै गुजरातलाई लक्ष्यभन्दा ६ रन टाढा रोक्न सफल भएका हुन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले आक्रामक शुरुवात गर्दै ६ विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातका लागि ओपनर साई सुदर्शन ७३ रनको शानदार अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन । मध्यक्रम र अन्तिमतिर लगातार विकेट गुमाउनु उनीहरूका लागि प्रत्युत्पादक बन्यो। २० ओभरमा २ सय ४ रन बनाए पनि गुजरातले हार टार्न सकेन।
राजस्थानको जितमा ओपनर यशश्वी जैसवाल, वैभव सूर्यवंशी र मध्यक्रममा आएका ध्रुव जिरेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। जैसवालले अर्धशतकसहित ५५ रनको योगदान गर्दा ध्रुव जिरेलले ७५ रनको उत्कृष्ट इनिङ खेलेका हुन् । सूर्यवंशीले भने १८ बलको सामना गर्दा ३१ रन बनाएका थिए । बलिङतर्फ राजस्थानका लागि रवि विश्वइले चार विकेट हात पार्दै टिमलाई जित दिलाएका हुन् ।
यो जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको राजस्थानले आफ्नो दबदबा कायम राखेको छ । लगातार दुई जित निकालेको राजस्थान तालिकाको शीर्ष स्थानमा पुगेको हो । समान चार अंक बनाएका दिल्ली र पञ्जाब रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्