काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगरसहित १८ जना छन् । शुक्रबार (चैत २०) राति करिब १० उनलाई उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विमानस्थल परिसरबाट यात्रुलाई जबरजस्ती तान्ने, दुःखहैरानी दिने, विभिन्न प्रलोभनमा पारी आफ्नो सम्पर्क भएको होटेलमा लगिदिने र त्यसबापत ‘कमिसन’ लिने, आपसमा झगडा, अभद्र व्यवहार गर्ने गरेको उनीहरूमाथि आरोप छ । नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
पक्राउ गरिएका अरू व्यक्तिहरूमा सिन्धुलीका राजकुमार राई, मकवानपुरका मंगलमान घलान, पाँचथरका खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, मकवानपुरका विश्व मोक्तान छन् ।
यस्तै, धनुषाका वीरेन्द्र झा, सिरहाका लडा मियाँ, मोरङका पर्शुराम राई, रामेछापाका सन्तु तामाङ, धनुषाका रघुवीर साह, महोत्तरीका राजीवकुमार रावत, धनुषाका सरोजकुमार महतो, मकवानपुरका अजय लामालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाका केशव लिम्बू, बझाङका रामप्रसाद जोशी र बझाङकै विमलराज जोशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए ।








प्रतिक्रिया दिनुहोस्