काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका बीच खाडी क्षेत्रको रणनीतिक जलमार्ग ‘होर्मुज’ बाट एक नेपाली युवक इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन् ।
इरानी सेनाले एउटा व्यापारिक जहाजलाई आफ्नो नियन्त्रणमा लिने क्रममा त्यसमा कार्यरत धनुषाका अमृत झालाई पनि पक्राउ गरेको हो । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार, उक्त जहाजमा कार्यरत सबै ‘क्रू मेम्बर’ लाई इरानी पक्षले नियन्त्रणमा लिएको छ । लोकबहादुर क्षेत्री, प्रवक्ता, परराष्ट्र मन्त्रालय अमृत झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत रहेको बताइएको छ ।
इरानी रिभोलुसनरी गाड्र्सले इजरायलसँग सम्बन्ध रहेको दाबी गर्दै उक्त जहाजलाई होर्मुज जलमार्गबाट आफ्नो नियन्त्रणमा लिएको थियो । झाका परिवारले झा सम्पर्कविहीन भएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएका थिए । मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत उनको अवस्था बुझ्ने र रिहाइको पहल भइरहेको जनाएको छ । होर्मुज एउटा साँगुरो तर विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक जलमार्ग हो । यसले फारसको पर्सियन गल्फलाई ओमानको खाडी र अरब सागरसँग जोड्दछ ।
यसैबीच, मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारी रहेको परराष्ट मन्त्रालयले जनाएको छ । हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराएको मन्त्रालयले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्