Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मोरङमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह


416
Shares

काठमाडाैं । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) पुष्टि भएको छ। संक्रमण देखिएलगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको जानकारी दिएका छन्।

नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कुखुरामा पनि समान लक्षण देखिएको छ भने केही कुखुरा मरेका छन्। यसले संक्रमण फैलिने जोखिम बढाएको भन्दै सम्बन्धित सबैलाई सचेत रहन भनिएको छ।

सूचनाअनुसार प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसार अर्को सूचना नआउञ्जेल पूर्ण रूपमा बन्द गरिएको छ।

कुखुरामा असामान्य बिरामीपन वा अचानक मृत्यु देखिएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ।

कुखुरा पालकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन तथा प्रवेश–निर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर, साबुन पानी प्रयोग गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन भनिएको छ।

संक्रमित तथा शंकास्पद कुखुराको सुरक्षित नष्ट तथा व्यवस्थापन तोकिएको मापदण्डअनुसार गरिने जनाइएको छ। साथै स्थानीय बजार र कुखुरा पसलहरूलाई सम्बन्धित निकायको अनुगमन तथा निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

नगरपालिकाले संक्रमण नियन्त्रणका लागि सबै नगरबासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ। बर्डफ्लु कुखुरा तथा अन्य चराचुरुंगीमा लाग्ने भाइरसजन्य संक्रामक रोग हो, जुन संक्रमित कुखुरा, तिनको दिसा, र्‍याल वा दूषित वस्तुको सम्पर्कबाट सजिलै फैलिन्छ। यसले कुखुरामा उच्च मृत्युदर गराउनुका साथै कुखुरापालन व्यवसायमा ठूलो क्षति पुर्‍याउने गर्छ।