Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न प्रसूति गृह र काठमाडौं महानगरबीच सम्झौता


143
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिका र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबीच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी सम्झौता भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगर र अस्पतालबीच उक्त समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार प्रसूति तथा स्त्रीरोग अस्पतालले महानगरअन्तर्गतका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नेछ ।

चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार उक्त प्लान्ट निर्माणका लागि महानगरले दुई करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य प्रवद्र्धन केन्द्र विस्तारसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको कारण सम्झौता गरिएको बताउनुभयो ।

उहाँले काठमाडौं महानगरभित्र कुनैपनि कार्य गर्नको लागि खालि ठाउँको अभाव हुने गरेको उल्लेख गर्दै सोही कारण स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनु भयो । यस सम्झौताले प्रसूति गृह र महानगरका स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट उत्पादन हुने स्वास्थ्यजन्य फोहोर एकै स्थानमा प्रभावकारी व्यवस्थापन हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘हामीले महानगरका प्रत्येक वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेसँगै त्यसमा विभिन्न व्यवस्थापन पक्षहरु रहेका छन् । ती पक्षहरुमध्ये त्यहाँबाट निस्कने स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन हो । त्यसको व्यवस्थापनका लागि हामीले विभिन्न प्रयासहरु गरिरहेका थियौँ । स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट स्वास्थ्यलाई निकै नकारात्मक प्रभाव पार्ने तथा निकै संवेदनशील फोहोर निस्कने गर्दछ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा ठाउँको समस्या हो ।

हामीले कुनैपनि काम गर्नको लागि ठाउँ नै छैन । त्यसकारण हामीले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको लागि विभिन्न अस्पतालहरुमा विभिन्न चरणमा हामीले छलफल गर्यौँ । यद्धपी त्यो काम सफल भएको थिएन । आज प्रसूति गृह र महानगरका स्वास्थ्यप प्रबन्धन केन्द्रबाट उत्पादन हुने स्वास्थ्यजन्य फोहोर एकै ठाउँमा व्यवस्थापन हुनेगरी एमओयु गरेका छौँ ।

फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माणको कार्य तत्काल थालनी गर्न र समयमै फोहोर व्यवस्थापनको कार्य शुरु गर्नेगरी काम गर्न म प्रसूति गृहलाई अनुरोध पनि गर्न चाहन्छु ।’ उहाँले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको लागि प्लान्ट निर्माण कार्य तत्काल शुरु गरी समयमै सञ्चालनमा अनुरोध पनि गर्नुभयो ।