Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अरनिको राजमार्ग अन्तर्गत कोदारीको पहिरो ४७ करोड लागतमा नियन्त्रण गरिंदै

साढे २ घरधुरी जोखिममुक्त हुँदै

0
Shares

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटले करिब ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी नेपालकै सबै भन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) परियोजना अघि बढाएको हो । राजमार्गको १ सय १३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि बग्न शुरु गरेको थियो । पहिरो निरन्तर बढ्दै जाँदा सडक पूर्णरूपमा क्षति हुनुका साथै सडक भन्दा माथि रहेका करिa २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए । गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए ।त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर काम अघि बढाएको हो ।

सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले यो नेपालकै सबैभन्दा ठूलो पहिरो नियन्त्रण प्रोजेक्ट भएकाे बताउनुभयाे । यसका साथै, पहिरोलाई अड्याउन ३० मिटर गहिरोसम्म ‘सोइल र रक एंकर रड’ बिछ्याएर ग्राउटिङ गरिने पनि उहाँकाे भनाइ छ । उहाँले सडकलाई एमएसई वालमार्फत सुरक्षित गरिनेछ भने सतहमा पनि ड्रेनहरू बनाएर पानीको व्यवस्थापन गरिने बताउनुभयाे ।..

यस परियोजनाको डिजाइन नेपालमा उपलब्ध वरिष्ठ जिओटेक्निकल इन्जिनियरहरू र विज्ञहरूको परामर्शमा तयार पारिएको हो । आगामी असार मसान्तसम्ममा मुख्य काम सक्ने र वर्षायामअघि नै थप क्षति नहुने गरी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पुर्‍याइसकेको जनाएको हाे । निर्माण कम्पनीका सञ्चालक टंकनाथ ढकालले यो सामान्य सडकको काम जस्तो नभई निकै चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्ट भएकाे बताउनुभएकाे छ।..

यद्यपि सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचे जस्तो गति लिन नसकेको गुनासो निर्माण पक्षको छ । स्थानीयले काम छिटो सक्न दबाब दिइरहेकाले सरकारी तवरबाट कुनै अवरोध नभएमा बर्खाअघि नै मुख्य कामहरु सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिने निर्माण कम्पनीले जनाएको हाे ।