Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


निर्वाचनकाे अन्तिम मतपरिणाम सम्बन्धी प्रतिवेदन आयोगले राष्ट्रपति पाैडेल समक्ष आज बुझाउँदै


91
Shares

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतपरिणाम सम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।

आयाेगले प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फको १ सय १० जनाको निर्वाचन परिणाम राष्ट्रपति पौडेललाई बुझाउने जनाएकाे हाे । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई बुझाउने जानकारी दिनुभयो । आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया शुरु हुने छ । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १ सय २५ सिट र समानुपातिक ५७ सिटसहित कूल १ सय ८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ ।

नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कूल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कूल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कूल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कूल सात सिट ल्याएर पाँचौं दल र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कूल पाँच सिट नै प्राप्त गर्दै छैठाैं दल हुन पुगेको छ ।

निर्वाचनबाट राष्ट्रिय दलका रूपमा ६ पार्टी मात्रै हुने भएकाे आयाेगले जनाएकाे हाे ।