Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पश्चिम एशियामा जारी द्वन्द्वकाबीच पनि जापानमा तेल भण्डार खुला

करिब ८ करोड ९ सय ८० मिलियन ब्यारेल तेल खुला गर्ने प्रधानमन्त्री ताकाइचीकाे घोषणा

611
Shares

एजेन्सी । जापानले पश्चिम एशियामा जारी द्वन्द्वकाबीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जापानले शुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्ने भएकाे हाे । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिने भएकाे छ । जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्ने भएकाे हाे । जसले उनीहरूलाई आफ्नो मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ ।

प्रधानमन्त्री सानाए ताकाइचीले करिब ८ करोड ९ सय ८० मिलियन ब्यारेल तेल खुला गर्ने घोषणा गर्नुभएकाे हाे । जुन अहिलेसम्मकै सबै भन्दा ठूलो रिलिज हो । यो मात्रा ४५ दिनको घरेलु खपत बराबर हो । सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १ दशमलव ८ गुणा बढी भएको क्योडो न्यूजले रिपोर्ट गरेको छ । सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको हाे ।

सन् १९७० को दशकमा यो प्रणाली शुरु भएयता जापानले आफ्नो तेल भण्डार प्रयोग गरेको यो सातौं पटक हो । सन् २०२५ को अन्त्यसम्ममा, जापानसँग २ सय ५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको तेल भण्डार थियो । जापान आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वमा निर्भर छ । जसले गर्दा गत फेब्रुअरीको अन्त्यमा मध्यपूर्व द्वन्द्व शुरु भएपछि होर्मुज जलडमरूमध्यको प्रभावकारी बन्दले यसलाई अत्यधिक जोखिममा पारेको छ ।

यस अवरोधले देशमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि ल्याएको हाे।