Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नवलपरासी पूर्वमा करिब ४७ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरूद्धको खोप


104
Shares

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म ४६ हजार ७ सय ७८ जनाले खोप लगाएका छन् ।

खोप लगाउनेमा १९ हजार १ सय ९ पुरुष र २७ हजार ६ सय ६९ महिला रहेका हुन् । जिल्लाका सबै आठ वटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको जनाइएकाे छ। हालसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएकाे हाे । जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो ।

जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको छ । मध्यविन्दुमा ४९ दशमलव आठ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको छ । जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी यहि चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन हुने भएकाे हाे । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको गरिएकाे छ।

स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेकाे जनाएकाे हाे । जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको थियो । जिल्लामा खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्ष्य अनुसार उपलब्धि हासिल हुने स्वास्थ्यकर्मीले विश्वास व्यक्त गरेका छन् ।