Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


भ्रष्टाचार आरोपमा पूर्वसांसद सन्तोष चालिसेसँग पाँच लाख धरौटी माग


260
Shares

काठमाडौं ।

विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद तथा गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले सोमबार यस्तो आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा लगाइएका आरोपबारे चालिसेले इन्कारी बयान दिएका कारण अदालतले उनीसँग धरौटी मागेको जनाएको छ।

अख्तियारले चालिसेमाथि तीन करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाउँदै गत मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापतिसमेत हुन्।

अख्तियारका अनुसार चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा अवैध रूपमा सम्पत्ति आर्जन गरेका थिए। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको छ।

अख्तियारको दाबीअनुसार चालिसेले जम्मा आठ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए। त्यसमध्ये चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध आम्दानीबाट आर्जन भएको देखिएको र बाँकी तीन करोड ६८ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै सोही रकमलाई बिगो कायम गरिएको हो।

उक्त मुद्दामा अख्तियारले चालिसेसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।

चालिसे २०७४ साल जेठमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट सांसद निर्वाचित भएका थिए। अख्तियारले चालिसेमाथि सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई लुकाइछिपाई झुट्टा विवरण पेस गरेको आरोपसमेत लगाएको छ।