काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटै राजनीतिक दलले प्रतिनिधिसभाकाे समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।
राजनीतिक दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् । दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । ६ वटा दलमध्ये १६ सिट पाएको नेकपा एमालेले आयोगमा बुझाएका समानुपातिक सांसदहरुको नाम शनिबारै सार्वजनिक गरिसकेको छ ।
यहि फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट सबै भन्दा ठूलो दल बनेको रास्वपाले आइतबार बसेको सचिवालय बैठकबाट सामानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको हो । ४८ जना महिला ९ जना पुरुषको नाम बुझाएको र परिचय भने आयोगले नै सार्वजनिक गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । त्यस्तै, समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुङ्गो लगाएको हो । १५ जना महिलासहित २० जनाको नाम निर्वाचन आयोगले नै सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
९ सिट पाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ । साथै ४ सिट पाएको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बु, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम पठाएको छ । त्यस्तै, ४ सिट पाएको राप्रपाले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम पठाएको हाे ।








प्रतिक्रिया दिनुहोस्