केशव कोइराला, बर्दिया ।
बर्दियाको राजापुरमा शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै व्यवहारिक उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको छ।
नकारात्मक ऊर्जालाई निस्तेज गर्दै सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले क्षेत्रको शैक्षिक विकासका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि पालिकाभर यस्ता उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। नगरप्रमुख थारुले समाजमा बढ्दै गएको विकृति र नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले विद्यार्थीहरूले पढाइप्रति इमानदार हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालय राजापुरका प्रधानाध्यापक सरोज झाले विद्यालयमा नैतिक शिक्षाको महत्व बढ्दै गएको उल्लेख गर्दै यस्ता उत्प्रेरणामूलक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
कार्यक्रममा राजापुर नगरपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विद्यालय व्यवस्थापन समिति (विव्यस), अभिभावक शिक्षक संघ (पिटिए) का पदाधिकारी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सांगितिक पिटि तथा “सिक्दै सिकाउँदै” शैक्षिक राष्ट्रिय अभियानका अभियन्ता हरिश वलीले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षक वलीले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको सपना देख्न प्रेरित गर्दै अभिभावक र शिक्षकको त्याग तथा समर्पणको महत्व बुझाउँदै समयको सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले भावनात्मक र प्रेरणादायी शैलीमा सञ्चालन गर्नुभएको कक्षाले विद्यार्थीहरूलाई निकै प्रभावित बनाएको सहभागीहरूले बताएका छन्।
सहभागी विद्यार्थीहरूले उक्त प्रशिक्षणले जीवनोपयोगी शिक्षा दिनुका साथै आफूहरूलाई सकारात्मक सोच र लक्ष्यप्रति प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।








प्रतिक्रिया दिनुहोस्