Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


पश्चिमी एशियाको द्वन्द्वप्रति सरकार सजग छः परराष्ट्रमन्त्री शर्मा


0
Shares

काठमाडाैं । अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रतिसरकार गम्भीर र सजग रहेको बताउनुभएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको हो ।

पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो । सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी उहाँले दिनुभयो । कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबीच मन्त्रालयले सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माले प्रष्ट पार्नुभयो ।

सम्बोधनकै क्रममा उहाँले पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल त्यहाँस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ । नेपाल सरकार यसप्रति सजग छ ।

विशेषगरी पश्चिमी एशिया तथा मध्यपूर्व क्षेत्रका विकसित घटनाक्रमहरूका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक रूपमा हाम्रो चासो बढेको छ । यो क्षेत्रमा हवाई सेवा प्रभावित हुँदा नेपाली नागरिकहरूको आवतजावतमा समेत प्रत्यक्ष प्रभाव परेको यहाँ देखिएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइएको छ ।

सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ । यस कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुनः सेतुको काम गर्नेछ । यसैगरी पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूले कुनै समस्या वा कठिनाइको सामना गर्नुपरिरहेको छ भने सोको बारेमा जानकारी राख्न हुन र त्यहाँ रहेको नेपाली राजदूतावासको सम्पर्कमा रहन समेत म यसै मञ्चबाट अनुरोध पनि गर्न चाहन्छु ।

यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हक र हित संरक्षणको लागि सहयोग तथा सहकार्य गर्नुभएकोमा गैरआवासीय नेपाली संघप्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । यसका अतिरिक्त भूकम्प, बाढीपहिरो लगायत दैवीप्रकोपका घटनाहरू तथा यसभन्दा पहिलेको कोभिड संकटको समयमा समेत गैरआवासीय नेपालीहरूले पु¥याउनुभएको सहयोगका लागि म हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा पनि गैरआवासीय नेपाली संघबाट निरन्तर सहयोग जारी रहने कुरामा आशावादी छु ।’

उहाँले विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको बताउनु भयो । भूकम्प, बाढीपहिरो जस्ता दैवीप्रकोपदेखि कोभिड–१९ को विश्वव्यापी महामारीसम्म गैरआवासीय नेपालीहरूले पु¥याएको योगदानको स्मरण गर्दै मन्त्री शर्माले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।