झापा । मध्यपूर्व तथा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारको व्यवस्था गर्न अन्तर्राष्ट्रिय झापाली समाजले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र संस्थापक अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले बुधवार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ज्ञापन–पत्र बुझाउँदै त्यस्तो आग्रह गरेका हुन् । समाजकोतर्फबाट मन्त्रालयमै पुगी उनीहरुले ज्ञापन–पत्र बुझाएका थिए ।

नेपाल सरकारमार्फत सम्बन्धित देशहरुमा रहेका नेपाली दूतावासहरुलाई सक्रिय बनाई आवश्यक समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकहरुको सूचना सुनिश्चित गर्न आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धारको व्यवस्था गर्न अन्तर्राष्ट्रिय झापाली समाजले माग गरेको छ ।
मध्यपूर्व तथा इजरायलमा रहेका नेपाली नागरिकहरुसँग नियमित सम्पर्क राख्ने, आवश्यक सूचना प्रवाह गर्ने तथा आपतकालीन सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउन परराष्ट्रमन्त्रीलाई आग्रह गरिएको हो ।
समाजका अध्यक्ष चम्लागाँईले भने– ‘हालमध्यपूर्व तथा इजरायल लगायतका देशहरुमा उत्पन्न भइरहेको अस्थिर सुरक्षा परिस्थितिका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकहरु अत्यन्त चिन्तित अवस्थामा रहेका छन् ।’ त्यस क्षेत्रमा कार्यरत धेरै नेपाली कामदार तथा विद्यार्थी आफ्नो सुरक्षा तथा भविष्यप्रति गम्भीर चिन्तामा रहेको जानकारी प्राप्त भएको जनाइएको छ ।
नेपाली नागरिकको जीवन रक्षा तथा सुरक्षाको विषय अत्यन्त संवेदनशील भएकाले यस विषयमा नेपाल सरकारले आवश्यक पहल र चासो देखाउने समाजले विश्वास लिएको अध्यक्ष चौलागाँईले बताए ।
संस्थापक अध्यक्ष तथा संरक्षक पोखरेलले नेपाली नागरिकको सुरक्षा र उद्धारमा सरकारकोतर्फबाट गर्नुपर्ने पहलमा ढिलाइ गर्न नहुने बताएका छन् । ज्ञापन–पत्र बुझेपछि मन्त्री शर्माले सरकारले परिस्थितिको गाम्भीर्यता बुझेर आवश्यक पहल थाल्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्